FAQs Complain Problems

समाचार

संक्षिप्त परिचय

रघुगंगा गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको लगभग मध्य भागमा अवस्थित छ । यस गाउँपालिकाको स्थापना नेपालको संविधान २०७२ बमोजिम २०७३ साल फाल्गुण २७ गतेको राजपत्रमा प्रकाशित सूचना बमोजिम भएको हो । स्थानीय तह पुनः संरचना बमोजिम यस गाउँपालिकालाई तत्कालीन गा.वि.स.हरु बेगखोला, राखु भगवती, राखु पिप्ले, दग्नाम, झीँ, पाखापानी, चिमखोला, कुइनेमंगले गरी ८ वटा गा.वि.स.हरुलाई समावेश गरी १ गा.वि.स. १ वडाका दरले ८ वटै वडा कायम गरी रघुगंगा गाउँपालिकाको स्थापना गरिएको हो । ८,१६७ मिटरको उचाईमा रहेको नेपालको छैठौँ अग्लो धवलागिरि हिमालको काख हुँदै रिखारको पवित्र तपोभूमी कुइनेमंगलेको सुन्दर बस्तीहरुबाट पिप्ले गलेश्वर हुँदै कालिगण्डकी नदिमा मिसिएर बग्ने रघुगंगा नदिको नामबाट रघुगंगा गाउँपालिकाको नामाकरण गरिएको हो । यस नदिले बेगखोला र भगवती वडा बाहेकका अन्य ६ वटा वडालाई छोएको छ । मध्य पहाडी क्षेत्रमा पर्ने यस गाउँपालिकाको अधिकांश जमिन भिरालो र वन क्षेत्रले ओगटेको र केही भू-भाग खेतीयोग्य छ । रघुगंगा गाउँपालिकामा कृषि तथा पशुपालन व्यावसायिकताको अभिवृद्धिका कारण स्थानीय आर्थिक विकासमा प्रगति भएको छ । यस क्षेत्रको प्राकृतिक, भौगोलिक, पर्यावरणीय, सामाजिक तथा साँस्कृतिक विविधताको उपयोगबाट अवसरहरू सिर्जना भएका छन् । भौगोलिक अवस्थितिका दृष्टिकोणले २८º२२’३०” देखि २८º४१’५२” उत्तरी अक्षांश र ८३º२५’१२” देखि८३º३७’०३” पूर्वी देशान्तरसम्म फैलिएको यस गाउँपालिका समुद्र सतहबाट ८६१ मिटर देखि ६९६२ मिटर उचाइसम्म फैलिएको छ । यस गाउँपालिकाको क्षेत्रफल ३७९.१३ वर्ग कि.मी. रहेको छ भने कृषियोग्य जमिन र बस्तीका लागी उपयुक्त देखिएको जमिन ५२.०९ वर्ग कि.मी. रहेको छ । यस गाउँपालिकाको पूर्वी सिमानामा अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्ला पर्दछन भने पश्चिममा धवलागिरी गाउँपालिका र मालिका गाउँपालिका रहेका छन । त्यसैगरी यस गाउँपालिकाको उत्तर दिशातर्फ धवलागिरी गाउँपालिका र मुस्ताङ जिल्लाले जोडेका छन भने दक्षिणमा मंगला गाउँपालिका, बेनी नगरपालिका र पर्वत जिल्लाको जलजला गाउँपालिकासँग यस गाउँपालिकाको सिमाना जोडिएको छ । यसरी यस गाउँपालिकाको म्याग्दी जिल्लाका सबै स्थानीय तहसँग सिमाना जोडिनुका साथै पर्वत जिल्ला र मुस्ताङ जिल्लाको सिमानासँग समेत यस गाउँपालिकाको सिमाना जोडिएको छ । कालीगण्डकी नदीको किनार देखि उपल्लो लेकाली भेगसम्म फैलिएको यस गाउँपालिकाको भूगोलमा सबै प्रकारको जलवायु र जमिन उपलब्ध छ । कालिगण्डकी नदी, रघुगंगा खोला तथा अन्य मध्यमस्तरका खोला र खोल्साहरु, रहेकोले जलविद्युत तथा सिंचाई सुविधा विस्तारका लागि पर्याप्त अवसर सिर्जना गरेको छ । गाउँपालिका क्षेत्रभित्र रहेका धवलागिरी आइसफल, धवलागिरी सेन्चुरीमार्ग, झीँ, टोड्के, रुईसे, मालिका मन्दिर, वेगखोलाको लामो पुल, राखु भगवती मन्दिर, रानीपौवा, दर्मिजा तातोपानी कुण्ड, मण्डलीथान, रिखार मन्दिर लगायतलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकेको खण्डमा यस गाउँपालिका पर्यटन क्षेत्रबाट उल्लेखनीय रुपमा अगाडी बढ्न सक्दछ ।

जन प्रतिनिधि

//